प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०७९
सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-०८-२८

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका-१ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।            फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।             उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एन.आई.सी. एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।              उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अनलाईन मार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ
२०७९-०८-२६

काठमाडौं, २६ मंसिरअनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१ जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरुमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।